निर्वाचन बिथोल्ने अराजक गतिविधिप्रति वाईसीएलको आपत्ति: 'प्रतिरोधमा उत्रिन बाध्य नबनाइयोस्'

काठमाडौं । योङ कम्युनिस्ट लिग (वाईसीएल), नेपालले आगामी निर्वाचनको पूर्वसन्ध्यामा भइरहेका अराजक र अलोकतान्त्रिक गतिविधिहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संगठनका केन्द्रीय अध्यक्ष क. पुष्प ओलीद्वारा जारी विज्ञप्तिमा देशका विभिन्न स्थानमा झण्डा जलाउने, च्यातने र राजनीतिक कार्यक्रमहरू बिथोल्ने जस्ता कार्यहरू भइरहेको भन्दै त्यसको कडा शब्दमा भर्त्सना गरिएको छ। ​वाईसीएलले लामो संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र फरक विचारको सम्मान हुनुपर्नेमा जोड दिएको छ। विज्ञप्तिमा भनिएको छ, "लोकतन्त्रमा असहमति स्वाभाविक भए पनि असहिष्णुता र हिंसात्मक व्यवहार कदापि स्वीकार्य हुन सक्दैन।" विशेष गरी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई एउटा महत्वपूर्ण लोकतान्त्रिक अभ्यासको रूपमा लिँदै यसलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको साझा जिम्मेवारी भएको संगठनले उल्लेख गरेको छ। ​प्रेस विज्ञप्ति मार्फत वाईसीएलले राज्य संयन्त्र, निर्वाचन आयोग र प्रहरी प्रशासनलाई यस्ता गैरकानुनी गतिविधिहरू तत्काल नियन्त्रण गर्न र दोषीमाथि कारबाही गर्न माग गरेको छ। यदि समयमै यस्ता घटनाहरू नियन्त्रण नगरिए जनस्तरबाट उत्पन्न हुन सक्ने प्रतिरोध वा प्रतिकारको नैतिक जिम्मेवारी राज्य र अराजक गतिविधिमा संलग्न पक्षले नै लिनुपर्ने चेतावनी समेत दिइएको छ। संगठनले विधिको शासन, शान्तिपूर्ण प्रतिस्पर्धा र मतदाताको अधिकार रक्षाका लागि सबै पक्षलाई संयम र कानुनी मर्यादा पालना गर्न अपिल गरेको छ।

निर्वाचन बिथोल्ने अराजक गतिविधिप्रति वाईसीएलको आपत्ति: 'प्रतिरोधमा उत्रिन बाध्य नबनाइयोस्'

Files